28/09/2022
मल बनाउन चाहिने जति पराल जोखेर १ देखि १.५ फिट टुक्रा पारेर काटी सफा पानीले राम्रोसँग भिजाउनु पर्दछ । चाहिने जति रासायनिक मल र अन्य सामाग्री जोखेर तयार गर्नु पर्दछ । पहिलो दिन परालको थुप्रोलाई एउटा काठको फ्रेम (५ फिट * ५ फिट * १० ईन्च) भित्र तह–तह पारी राख्दै हलुका सँग गोडाले कुल्चिएर मिलाउनु पर्दछ । प्रत्येक ३–४ तह पछि पहिले मिसाएको एमोनियमसल्फेट र यूरियाको मात्रा १–२ के.जी. छर्नु पर्दछ । यदि पराल राम्रोसँग भिजेको रहेनछ भने झारी वा हातले अलि अलि पानी छम्कनु पर्दछ । गुणस्तरीय कम्पोष्ट मल तयार गर्नको लागि बीच बीचमा आठौं पटकसम्म पल्टाउनु पर्ने हुन्छ । यसरी पल्टाउँदा मल पाके नपाकेको र ब्याड बनाउन तयारी अवस्थामा भए नभएको स्पष्ट थाहा हुन्छ । पाँचौ दिनमा पहिलोपटक पल्र्टाउनु पर्दछ । यसरी पल्टाउँदा बाहिरको भित्र र भित्रको बाहिर पर्ने गरी सुख्खा पराललाई भित्र पारी काठको फ्रेम भित्र गोडाले थिच्दै थुप्रो बनाउनु पर्दछ । दसौं दिनमा दोश्रोपल्ट पल्टाई सिफारिश मात्राको कृषि चून तह–तहमा छरी थुप्रो बनाउनु पर्दछ । करीब तेह्रौ दिनमा तेश्रो पटक पल्टाईदिनु पर्दछ । यस अवस्थामा मलबाट तातो बाफ आउन शुरु गर्दछ र चिस्यानको मात्रा कम भएमा अलि अलि पानी छम्कनु पर्दछ । सोह्रौं दिनमा चौथोपटक पल्टाउनु पर्दछ र यसै मौकामा आवश्यक मात्राको रासायनिक मल थप्नु पर्दछ । यस बेलासम्ममा मल पल्टाउँदा नमिठो तथा आँखा पिरो हुने एमोनियाको ग्यास निस्केको जस्तो अनुभव हुन्छ । कम्पोष्ट राखेको उन्नाइसौं दिनमा पांचौ पटक पल्टाउनु फाइदाजनक हुन्छ तर यस पटक कुनै थप सामाग्री दिईरहन जरुरी पर्दैन । करीब तेश्रो हप्तामा छैठौं पटकको पल्टाई पूरा गर्नु पर्दछ । यस पल्टाईको साथमा रोगनाशक विषादि डाइथेन एम–४५, २–३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ । करीब २५ दिन भित्र सातौं पल्टाई गरी सक्नु पर्दछ तर यस पल्टाईको बेला कुनै थप सामाग्री राख्न जरुरी हुँदैन । साधारणतया गर्मीको समयमा २८–३० दिनमा मल पाकेर तयार भईसक्छ तर जाडोको मौसममा ४०–४५ दिन लाग्न सक्तछ । पाकेको मल हल्का खैरो कालो रङ्गको हुन्छ र परालको त्यान्ुा पनि सजिलैसँग चुडिन्छ । मललाई मुट्ठी पार्दा हत्केला भिजेको हुन्छ र मल डल्लो परेको अवस्था हुनु पर्दछ ।
कृषि सम्बन्धि कुनै पनि जिज्ञासाका लागि 📞: काठमाडौं: ९८०२३९३२६०| पोखरा: ९८०२३९३१७२| चितवन नवलापरासी ९८०२३९३२६१
📲अन्य जानकारि वा सल्लाह प्राप्त का लागि App डाउन्लोड गर्नुहोस्: https://bit.ly/34h6xgK